निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवा

भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार निःशुल्क थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ ।
विश्व थाइराइड दिवसको अवसरमा भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरको प्राविधिक सहयोगमा संघको भवनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १८३ जना लाभान्वित भएका छन् । शिविरमा निःशुल्क थाइराइड परीक्षण, सुगर जाँच र रक्तचाप परीक्षण गरिएको छ । शिविरमा सहभागीहरुलाई भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरले विशेषज्ञ चिकित्सकबाट पहिलो पटकको लागि उपचार र परीक्षण निःशुल्क गरिदिने जनाएको छ । 

आयोजक संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत समय समयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिँदै त्यसकै निरन्तरता स्वरुप निःशुल्क थाइराइड परीक्षण शिविर आयोजना गरेको बताइन् । अस्वस्थकर जीवनशैली एवं तनावका कारण थायराइड हर्मोनका बिरामीको संख्यामा लगातार वृद्धि भइरहेकाले समयमै उपचार गरी रोगबाट बच्न शिविर राखिएको उनको भनाइ छ । समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा गम्भीर असर गर्ने हुनाले थाइराइड परीक्षण गरी रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकबाट उपचार गराउन उनले आग्रह गरिन् ।
