भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित बैंकिङ अभिमुखीकरण एवं व्यवसायी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
प्रभु बैंक लि.को सहकार्यमा संघको सभाहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। संघमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई बैंकिङ सेवा, कर्जा प्रक्रिया, बैंकिङ कारोबार लगायतका विषयमा जानकारी गराउने उद्देश्यका साथ बैंकिङ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले उद्योग वाणिज्य क्षेत्रको विकासका लागि निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच समन्वय र सहकार्य नितान्त आवश्यक रहेको बताए। देशको अर्थतन्त्र विकासका लागि उद्योगी व्यवसायी र बैंकिङ क्षेत्रको योगदानबिना सम्भव नहुने भएकाले उद्योगी व्यवसायीहरु र बैंकबीचको सम्बन्ध सधै विश्वासिलो बनाइराख्नुपर्नेमा उनले जोड दिए। बैंकिङ साक्षरता र बैंकिङ पहुँच वृद्धिले उद्यमी व्यवसायीहरुलाई उद्यम व्यवसाय थप व्यवस्थित बनाउन मद्दत पुग्ने भन्दै उनले विशेषतः महिला तथा युवा उद्यमी लक्षित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने किसिमका स्किमहरु ल्याउन आग्रह गरे।
प्रभु बैंक लि.को बागमती प्रदेश अन्तर्गत केन्द्रीय व्यवसाय केन्द्र १ का चिफ प्रोभिन्स अफिसर राजेश पोख्रेलले उद्यमी व्यवसायीहरुको विकास तथा प्रवद्र्धनका लागि आफूहरु हातेमालो गर्दै सहकार्य गर्न सदैव तयार रहेको बताए।
कार्यक्रममा प्रभु बैक लि. माइक्रो फाइनान्स प्रमुख प्रविनकुमार दाहालले बैंकको तर्फबाट प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणका क्रममा उनले उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, कर्जा लिनुअघिको प्रक्रिया, किस्ता तथा ब्याज भुक्तानी प्रक्रियाका साथै बैंकबाट उपलब्ध विभिन्न सेवा तथा सुविधाका बारे जानकारी गराए। सहभागी उद्योगी व्यवसायीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको दाहालले उत्तरसहित स्पष्ट पारेका थिए।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले उद्यमी व्यवसायीहरु र बैंक एकआपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए। कार्यसमिति सदस्य ऋषिकेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु, संघअन्तर्गतको विभिन्न उपसमितिका सदस्यहरु, सदस्यहरु, जिल्लास्थित विभिन्न वस्तुगत संघका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु सहभागी थिए।
यसैबीच, संघअन्तर्गतका विभिन्न १६ वटा उपसमितिमा मनोनित संयोजक एवं सदस्यरु तथा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका विभिन्न समितिमा मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको छ।

