July 17, 2026

भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न

२८ असार २०८३

भक्तपुरः

भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।

संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागितामा संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सूर्यविनायक नगरपालिकास्थित होटल घ्याम्पेडाँडामा सञ्चालन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कार्यक्रमको डिजिटल ब्यानर डिस्प्ले गरी उद्घाटन गरे ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति घिमिरेले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको विकास, व्यवसायीकरण र आधुनीकरण गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको विकासका लागि कृषकलाई राज्यको तर्फबाट सम्मान, प्रोत्साहन आवश्यक रहेको उनको भनाइ छ । विकसित देशहरुमा किसानलाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक हुने गरेको भन्दै उनले जर्मन जाँदा आफूलाई कृषिप्रधान देश नेपालबाट आएको व्यक्ति भनेर उच्च सम्मान दिएको स्मरण गरे ।

उनले देशमा कृषि क्षेत्रलाई दिगो विकास, व्यवसायीकरण र रोजगारमुखी बनाउन कृषकमैत्री नीति आवश्यक रहेको बताए । कृषि उद्यम केन्द्रले व्यवसायिक रुपमा कृषि क्षेत्रको व्यापक विकास गर्न सरोकारवाला निकायलाई सुझाव दिँदै आएको भन्दै उनले कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि भूमिका खेल्न आग्रह गरे ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले विगतमा झै जिल्ला नगर उद्योग वाणिज्य संघहरुको वृत्ति विकास, सचिवालय सुदृढीकरण, क्षमता विकास लगायत अन्य कार्यमा कृषि उद्यम केन्द्रबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । भक्तपुर उद्योग वाणिज्य संघका विविध उद्देश्यहरुमध्ये प्रतिस्पर्धी व्यवसायिक कृषिको विकास गर्ने पनि रहेको भन्दै उनले सोही अनुरुप संघले विविध कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए ।

कृषि उद्यम केन्द्रका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एवं कार्यक्रमका सहजकर्ता अरुण श्रेष्ठले संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रमबाट कुनै पनि संस्थाको सबल र कमजोर पक्ष तथा सुधार गर्नुपर्ने पक्ष स्पष्ट रुपमा पत्ता लाग्ने भएकाले हरेक संघ संस्थाको लागि यो कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । स्वःमूल्यांकन कार्यक्रमबाट पहिचान भएका कमजोर पक्षलाई ध्यानमा राखी तथ्यपरक योजना बनाई अगाडि बढ्न सके संघलाई अझ दिगो रुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष विश्वराम दुवालले आआफ्नो धारणा राखेका थिए ।

संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूवअध्यक्ष अध्यक्ष एवं सल्लाहकार र कर्मचारीहरुबीच संघसँग सम्बन्धित विभिन्न सूचांकहरुमा केन्द्रित रहेर घनिभूत छलफल गरिएको थियो । संघको स्रोत, साधन एवं वित्तीय अवस्था, सामाजिक समावेशीकरण तथा लंैंगिक समानताका सवालहरु समावेशको अवस्था, कार्यक्रम योजना र दिगोपन, आन्तरिक संगठनको यथार्थ अवस्था, ज्ञानको व्यवस्थापन एवं सेवाको गुणस्तरको अवस्था, संघबाट हुने गरेका पैरवी, कार्यसमिति सदस्यहरु एवं कर्मचारीहरुको उत्प्रेरणा र प्रतिबद्धताको यथार्थता, घरेलु, लघु, साना तथा मझौला उद्यम विकास र व्यवस्थापनको अवस्था, सरोकारवालाहरुसँगको सम्बन्ध लगायतका विषयमा मूल्यांकन गरिएको थियो । स्वःमूल्यांकनको क्रममा संघले अधिकांश सूचांकहरुमा अपेक्षित प्रगति हासिल गरी संघ अति उत्तम स्थानमा रहेको पाइयो भने सुधार गर्नुपर्ने विषय पनि पहिचान गरियो ।

आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुटसम्बन्धी अन्तरक्रिया सम्पन्न

July 17, 2026

आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुटसम्बन्धी अन्तरक्रिया सम्पन्न
१७ असार २०८३
भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार आर्थिक ऐन २०८३ मार्फत विभिन्न करमा गरिएका विशेष छुट र अन्य व्यवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुट बारे जानकारी गराउने उद्देश्यका साथ संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले संघले हरेक वर्ष आर्थिक ऐनमा उपलब्ध छुट सुविधाहरुको बारे जिल्लाका करदाताहरुलाई जानकारी दिन आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग सहकार्य गरी अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका विशेष कर छुट, सहुलियत, राजश्वका नयाँ व्यवस्था, करदाताले प्राप्त गर्न सक्ने सुविधाका विषय, कर छुट प्राप्त हुने समयसीमा लगायतका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । साथै उनले समयमै कर विवरण तथा दायित्व पूरा गर्दा करदाताले प्राप्त गर्ने छुट सुविधाका बारेमा स्पष्ट पारे ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी एवं करदाताहरुले कर छुट, जरिवाना मिनाहा, आफूहरुले भोगिरहेका व्यवहारिक समस्या बारेमा कर अधिकृत कोइरालासमक्ष प्रश्न तथा जिज्ञासा राखेका थिए भने ती प्रश्नहरुको कर अधिकृत कोइरालाले उत्तर दिई जिज्ञासा बारेमा स्पष्ट पारेका थिए ।
यसैगरी, कार्यक्रममा संघका उपाध्यक्ष एवं संघअन्तर्गतको राजश्व उपसमितिका संयोजक दिनेश गोसाई, उपसमितिकी सदस्य सन्ध्या श्रेष्ठ बुद्धाचार्यले आर्थिक ऐनमा व्यवस्था भएका प्रावधानको विषयमा कार्यक्रमबाट करदाताहरु थप स्पष्ट भएको विश्वास व्यक्त गर्दै उपलब्ध कर छुट सुविधाहरुको अधिकतम उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा १०० भन्दा बढी भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा करदाताहरु सहभागी भएका थिए ।

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

May 31, 2026

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

सोमबार, जेष्ठ ४,२०८३

काठमाण्डौ । नौबुँदे घोषणापत्र जारी गर्दै भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय मकवानपुरसँगको सहकार्यमा संघले आइतबार जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३ सञ्चालन गरेको हो ।

स्टार्टअप उद्यम तथा व्यवसाय गर्न चाहने उद्यमीलाई तालिम, प्रशिक्षण तथा परामर्श दिन जिल्ला उद्योग वाणिज्य संघ मातहत सञ्चालन हुने गरी बिजनेस इन्क्युबेसन सेन्टर स्थापनाका लागि सरकारबाट बजेट व्यवस्था हुनुपर्ने, परियोजना धितोमा सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरल बनाइनुपर्ने, स्टार्टअप कोषमा पर्याप्त बजेट विनियोजन गरी बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागसहित सम्मेलन सम्पन्न भएको संघले जनाएको छ ।

सम्मेलनले वैदेशिक रोजगारीमा निर्भरता घटाउन सरकारले स्वदेशमै युवालाई रोजगारी र उद्यमका अवसर सिर्जना गर्न उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिई लगानीमैत्री वातावरण बनाउन आवश्यक नीति ल्याउनुपर्ने माग गरेको छ । स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीको बजार पहुँचको व्यवस्था, उत्पादित वस्तु तथा सेवा खरिदमा सरकारी प्राथमिकता, ब्रान्डिङमा प्राथमिकता, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच पु¥याउन निर्यात प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने, उद्योग व्यवसाय दर्ता, कर प्रणाली, नवीकरणलगायतका प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड गरी एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाउनुपर्ने सम्मेलनले सुझाव दिएको छ ।

सम्मेलनको उद्घाटन बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले गरेकी थिइन्। उक्त अवसरमा मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले स्टार्टअप र नवप्रवर्तन उद्यम व्यवसाय प्राथमिकतामा राखेको बताइन् । स्टार्टअप र नवप्रवर्तन उद्यमीहरुको विकासका लागि आवश्यक ऐन संशोधनका कार्यहरु भइरहेको जानकारी दिँदै उनले स्टार्टअप सम्मेलनले पनि उनीहरुको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले देशमा स्टार्टअप वातावरण निर्माण र नवप्रवर्तन संस्कृतिको विकास तथा सुदृढीकरण, युवा उद्यमीलाई व्यवसायिक दिशानिर्देश, लगानीको वातावरण तयार, प्रविधि विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका कार्यसमिति सदस्य एवं युवा उद्यमी उपसमितिका संयोजक कृतन अवालले आआफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा प्यानल डिस्कसन सेसन, फाउन्डर स्टोरी सेसन, पिच डेक सेसन सञ्चालन गरिएको थियो । प्यानल डिस्कसन सेसनमा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरु सुबास शर्मा, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, विनायक शाह र बलराम सञ्जेल वक्ताका रुपमा रहेका थिए । ‘नेपालमा तपाईं शुन्यबाट सुरु गर्नुप¥यो भने कुन क्षेत्रमा लगानी गर्नुहुर किन ?’ विषयक समूहगत छलफलमा सुगारिका केसीले सहजीकरण गरेकी थिइन् ।

यसैगरी, फाउन्डर स्टोरी सेसनमा सफल उद्यमी व्यवसायीहरु सन्तोष पाण्डेय, सैफ गौचन, श्रीया गिरी, केश्मा थापा, निष्ठा कायष्थले आफ्नो उद्यम व्यवसाय यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरु प्रस्तुत गरे । त्यसैगरी, पिच डेक सेसनमा मोडर्न कलेजमा अध्ययनरत गरिमा थापाले प्लास्टिक फोहोर व्यवस्थापन, ख्वप कलेजमा अध्ययनरत असिम त्वायनाले कानुनी परामर्शसम्बन्धी एप र बागिश्वरी कलेजमा अध्ययनरत रिया प्रजापतिले हस्तकलाका वस्तु उत्पादनसम्बन्धी प्रस्तावना प्रस्तुत गरेका थिए ।

उक्त सेसनको निर्णायकमण्डलमा संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य र वान टु वाचका महाप्रबन्ध विश्व गिरी रहेका थिए ।

सम्मेलनमा विभिन्न स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीहरुद्वारा उत्पादित सेवा र वस्तुहरुको २२ वटा स्टल प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका स्टलहरुमध्ये प्लान माई नेपालको स्टललाई उत्कृष्ट नवप्रवर्तन स्टल घोषित गरिएको संघअन्तर्गतको युवा उद्यमी उपसमितिका उपसंयोजक शिशिर किसीले जानकारी दिए ।

निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवा

June 18, 2024

निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवा

भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार निःशुल्क थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ ।
विश्व थाइराइड दिवसको अवसरमा भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरको प्राविधिक सहयोगमा संघको भवनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १८३ जना लाभान्वित भएका छन् । शिविरमा निःशुल्क थाइराइड परीक्षण, सुगर जाँच र रक्तचाप परीक्षण गरिएको छ । शिविरमा सहभागीहरुलाई भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरले विशेषज्ञ चिकित्सकबाट पहिलो पटकको लागि उपचार र परीक्षण निःशुल्क गरिदिने जनाएको छ । 
आयोजक संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत समय समयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिँदै त्यसकै निरन्तरता स्वरुप निःशुल्क थाइराइड परीक्षण शिविर आयोजना गरेको बताइन् । अस्वस्थकर जीवनशैली एवं तनावका कारण थायराइड हर्मोनका बिरामीको संख्यामा लगातार वृद्धि भइरहेकाले समयमै उपचार गरी रोगबाट बच्न शिविर राखिएको उनको भनाइ छ ।  समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा गम्भीर असर गर्ने हुनाले थाइराइड परीक्षण गरी रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकबाट उपचार गराउन उनले आग्रह गरिन् ।