ई–कमर्श तालिम सम्पन्न

June 4, 2026

ई–कमर्श तालिम सम्पन्न
भक्तपुरः
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आजको प्रविधिको युगमा उद्यमी व्यवसायीहरु प्रविधि प्रयोगमा अभ्यस्त हुन आवश्यक रहेको बताए । बदलिँदो समयअनुसार उद्यम व्यवसायमा पनि डिजिटल माध्यमको प्रयोग बढ्दै गइरेको भन्दै उनले उद्यम व्यवसाय गर्दा प्रविधिसम्बन्धी ज्ञानसँगै सोसँग सम्बन्धित विद्यमान कानुन बारे पनि जानकार हुनुपर्नेमा जोड दिए।

कुनै पनि काम गर्दा पहिलो प्रयासमै सफल नहुँदैमा हतोत्साही हुन नहुने उनको भनाइ छ । उनले असफलताबाट नयाँ ज्ञान प्राप्त हुने भन्दै उच्च मनोबलका साथ दत्तचित्त भएर लागिपरे अवश्य सफलता मिल्ने बताए । उनले जसरी भए पनि नाफा कमाउने उद्देश्य राखेर अस्वस्थ व्यापार व्यवसाय नगर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । अस्वस्थ प्रतिस्पर्धाले उद्यमी व्यवसायीहरुको प्रतिष्ठासमेत गुम्न सक्ने भएकाले स्वस्थ प्रतिस्पर्धा गरी शुद्ध नाफा कमाउने उद्देश्यका साथ व्यापार व्यवसाय गर्नुपर्ने उनले बताए ।
नगर प्रमुख प्रजापतिले युवाहरुको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै हरेक युवाहरुलाई उद्यमशील बनाई देशमै उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ विविध तालिम तथा कार्यक्रम सञ्चालन गरिरहेकोमा उद्योग तथा वाणिज्य कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघलाई धन्यवाद दिए । भक्तपुर नगरपालिकाले उद्यमशीलता विकासका लागि गरिरहेको क्रियाकलाप बारे जानकारी दिँदै उनले तालिमसँगै व्यवसाय गर्न चाहनेहरुलाई भक्तपुर नगरपालिकाले ऋण सहयोगसमेत उपलब्ध गराउँदै आएको बताए ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उद्यम गरिरहेका र आगामी दिनमा उद्यम गर्न सोच बनाइरहेका युवा, महिलाहरुलाई लक्षित गरी ई–कमर्श तालिम आयोजना गरिएको जानकारी दिए । कार्यालयले जिल्लामा उद्यमशीलता विकासलाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै उनले भक्तपुर उद्योग वाणिज्य संघसँगको विशेष सहकार्यमा तालिम तथा कार्यक्रमहरु प्रभावकारी रुपमा सम्पन्न हुँदै आएको बताए ।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले ई–कमर्श तालिम उद्यमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, कला संस्कृति जगेर्ना तथा विकासका लागि गरिरहेको कामको प्रशंसा गर्दै जिल्लाको आर्थिक गतिविधि बढाउन स्थानीय तहहरु र उद्योग वाणिज्य संघ निकट भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जा, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष विश्वराम दुवाल, कार्यसमिति सदस्य एवं तालिम उपसमितिका संयोजक अनिल शिवाकोटी, प्रशिक्षक सञ्जिव धावाले तालिमबाट प्रशिक्षार्थीहरुमा प्रविधिसम्बन्धी व्यवसायिक दक्षता एवं क्षमता वृद्धि भएको विश्वास गर्दै सिकेका ज्ञानलाई तालिममा मात्र सीमित नगरी व्यवहारिक रुपमा कार्यान्वयन गरी लाभ लिनुपर्नेमा जोड दिए । प्रशिक्षार्थीहरुको तर्फबाट निजन बासुकला र रेश्मी हालेयो जोशीले आजको प्रविधिको युगमा ई–कमर्शसम्बन्धी ज्ञान अत्यन्त उपयोगी रहेको भन्दै आगामी दिनमा पनि सीप, क्षमता र ज्ञान वृद्धि हुने तालिम तथा कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न आग्रह गरे ।
तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गरे ।
ई–कमर्श तालिमको उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सोमबार डिजिटल ब्यानर डिस्प्ले गरी उद्घाटन गरेका थिए ।

दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न

June 4, 2026

दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न

 

भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा सञ्चालित दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला शनिबार सम्पन्न भएको छ ।

‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर औद्योगिक क्षेत्र परिसरमा शुक्रबार र शनिबार व्यापार मेला सञ्चालन गरिएको हो । भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक संघले जनाएको छ ।

निःशुल्क प्रवेश व्यवस्था रहेको मेलाको स्थानीयवासी, आन्तरिक एवं वाह्य पर्यटक गरी करिब १० हजार जनाले अवलोकन गरेको संघका कोषाध्यक्ष एवं मेला उपसमिति संयोजक रंजित मारिखूले बताए । प्रतिकूल मौसमका बीच आयोजना गरिएको मेला अनुमान गरेको भन्दा पनि उपलब्धिमूलक भएको संघका उपाध्यक्ष एवं मेला समितिका सल्लाहकार विश्वराम दुवालले जानकारी दिए ।

मेलामा भक्तपुरको मौलिक पहिचान भादगाउँले कालो टोपी, जुजु धौ, हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, छाला तथा जुत्ताका सामानहरु, औद्योगिक उत्पादनका व्यापारिक स्टल, स्थानीय खानाका स्टल गरी ४० वटा स्टल रहेका थिए । यसैगरी, मेला सञ्चालनको समयमा स्वास्थ्य शिविर समेत राखिएको थियो । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यान राखिएको थियो भने शुक्रबार साँझ मङ्का ब्यान्डको उत्कृष्ट प्रस्तुतीकरणसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ सहयोगी निकाय रहेको उक्त मेलाको मुख्य प्रायोजकमा होटल दाची, मिडिया पार्टनरमा नमस्ते ख्वप टेलिभिजन र ङातापोल एक्सप्रेस दैनिक रहेका थिए । यसैगरी, अनलाइन पार्टनरमा ईटिकेटनेपाल डटकम रहेका थिए भने इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको थियो ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले भक्तपुर उद्योग वाणिज्य संघले विगतदेखि स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुको बजारीकरणमा टेवा पु¥याउने तथा मौलिक कला, संस्कृतिको विकास गर्दै जिल्लाको आर्थिक, कृषि तथा दिगो पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेलाहरु सञ्चालन गर्दै आएको जानकारी दिँदै यसै वर्ष भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरिरहेको बताए ।

उक्त मेलाको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुकेश रंजित, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (जिल्ला÷नगर) दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्लास्थित वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु लगायत सहभागी थिए ।

 

 

 

 

 

 

 

 

 

 

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

May 31, 2026

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

सोमबार, जेष्ठ ४,२०८३

काठमाण्डौ । नौबुँदे घोषणापत्र जारी गर्दै भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय मकवानपुरसँगको सहकार्यमा संघले आइतबार जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३ सञ्चालन गरेको हो ।

स्टार्टअप उद्यम तथा व्यवसाय गर्न चाहने उद्यमीलाई तालिम, प्रशिक्षण तथा परामर्श दिन जिल्ला उद्योग वाणिज्य संघ मातहत सञ्चालन हुने गरी बिजनेस इन्क्युबेसन सेन्टर स्थापनाका लागि सरकारबाट बजेट व्यवस्था हुनुपर्ने, परियोजना धितोमा सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरल बनाइनुपर्ने, स्टार्टअप कोषमा पर्याप्त बजेट विनियोजन गरी बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागसहित सम्मेलन सम्पन्न भएको संघले जनाएको छ ।

सम्मेलनले वैदेशिक रोजगारीमा निर्भरता घटाउन सरकारले स्वदेशमै युवालाई रोजगारी र उद्यमका अवसर सिर्जना गर्न उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिई लगानीमैत्री वातावरण बनाउन आवश्यक नीति ल्याउनुपर्ने माग गरेको छ । स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीको बजार पहुँचको व्यवस्था, उत्पादित वस्तु तथा सेवा खरिदमा सरकारी प्राथमिकता, ब्रान्डिङमा प्राथमिकता, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच पु¥याउन निर्यात प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने, उद्योग व्यवसाय दर्ता, कर प्रणाली, नवीकरणलगायतका प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड गरी एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाउनुपर्ने सम्मेलनले सुझाव दिएको छ ।

सम्मेलनको उद्घाटन बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले गरेकी थिइन्। उक्त अवसरमा मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले स्टार्टअप र नवप्रवर्तन उद्यम व्यवसाय प्राथमिकतामा राखेको बताइन् । स्टार्टअप र नवप्रवर्तन उद्यमीहरुको विकासका लागि आवश्यक ऐन संशोधनका कार्यहरु भइरहेको जानकारी दिँदै उनले स्टार्टअप सम्मेलनले पनि उनीहरुको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले देशमा स्टार्टअप वातावरण निर्माण र नवप्रवर्तन संस्कृतिको विकास तथा सुदृढीकरण, युवा उद्यमीलाई व्यवसायिक दिशानिर्देश, लगानीको वातावरण तयार, प्रविधि विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका कार्यसमिति सदस्य एवं युवा उद्यमी उपसमितिका संयोजक कृतन अवालले आआफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा प्यानल डिस्कसन सेसन, फाउन्डर स्टोरी सेसन, पिच डेक सेसन सञ्चालन गरिएको थियो । प्यानल डिस्कसन सेसनमा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरु सुबास शर्मा, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, विनायक शाह र बलराम सञ्जेल वक्ताका रुपमा रहेका थिए । ‘नेपालमा तपाईं शुन्यबाट सुरु गर्नुप¥यो भने कुन क्षेत्रमा लगानी गर्नुहुर किन ?’ विषयक समूहगत छलफलमा सुगारिका केसीले सहजीकरण गरेकी थिइन् ।

यसैगरी, फाउन्डर स्टोरी सेसनमा सफल उद्यमी व्यवसायीहरु सन्तोष पाण्डेय, सैफ गौचन, श्रीया गिरी, केश्मा थापा, निष्ठा कायष्थले आफ्नो उद्यम व्यवसाय यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरु प्रस्तुत गरे । त्यसैगरी, पिच डेक सेसनमा मोडर्न कलेजमा अध्ययनरत गरिमा थापाले प्लास्टिक फोहोर व्यवस्थापन, ख्वप कलेजमा अध्ययनरत असिम त्वायनाले कानुनी परामर्शसम्बन्धी एप र बागिश्वरी कलेजमा अध्ययनरत रिया प्रजापतिले हस्तकलाका वस्तु उत्पादनसम्बन्धी प्रस्तावना प्रस्तुत गरेका थिए ।

उक्त सेसनको निर्णायकमण्डलमा संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य र वान टु वाचका महाप्रबन्ध विश्व गिरी रहेका थिए ।

सम्मेलनमा विभिन्न स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीहरुद्वारा उत्पादित सेवा र वस्तुहरुको २२ वटा स्टल प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका स्टलहरुमध्ये प्लान माई नेपालको स्टललाई उत्कृष्ट नवप्रवर्तन स्टल घोषित गरिएको संघअन्तर्गतको युवा उद्यमी उपसमितिका उपसंयोजक शिशिर किसीले जानकारी दिए ।

भक्तपुरका उद्योगी व्यवसायीद्वारा निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई

April 17, 2026

 

मितिः २०८२ चैत्र २७
भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाबाट प्रत्यक्ष एवं समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
जिल्लाका उद्योगी व्यवसायीहरुको सहभागितामा संघको सभाहलमा एक कार्यक्रमका बीच निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिँदै सम्मान गरिएको हो । कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रुकेश रंजितले स्थानीय, प्रदेश र संघीय सरकारमा रहेको असमान कर दर, एउटै विषयमा पटक पटक कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने बताए । स्थानीय उद्योग व्यवसायको संरक्षण, भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रुपमा विकास गर्ने, भक्तपुरलाई डे टुरिजमबाट स्टे टुरिजमको रुपमा विकास गर्ने, भक्तपुरलाई शिक्षा, स्वास्थ्यको हब बनाउने लगायतका विषयमा आफूले गम्भीरताका साथ काम गर्ने उनको भनाइ छ ।
भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीव खत्रीले देश विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले निजी क्षेत्रका समस्याहरुको सम्बोधन गरेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्ने नसक्ने भन्दै उनले उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरुको बारेमा सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताए ।
समानुपातितर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठ, कुसुम महर्जन, डा. गंगालक्ष्मी अवालले जनताले आशा र भरोसाका साथ दिएको मतको भावना अनुसार जिल्लाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि आफूहरु एकढिक्का भएर काम गर्ने बताए ।
यसैगरी, बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले जिल्लाको विकासका लागि स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरु एक ठाउँमा बसेर घनिभूत छलफल गर्न आवश्यक रहेको बताए । भक्तपुरलाई मेडिकल हब बनाउन सम्भव रहेको बताउँदै उनले जिल्लाका सबै सरोकारवाला लगायत जनप्रतिनिधिहरु एक भएर लागेमा भक्तपुरको स्वास्थ्य क्षेत्रमा फड्को मार्न सकिने स्पष्ट पारे ।
त्यसैगरी, बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्योगी व्यवसायीहरुले सहज वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिँदै उद्योगी व्यवसायीहरुले वर्तमान अवस्थामा भोगिरहेका समस्या निराकरण गर्न प्रदेश स्तरबाट खेल्नुपर्ने भूमिका आफूहरुले खेल्ने र आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट झन्डै दुईतिहाई नजिक मत प्राप्त सरकार बनेसँगै उद्योगी व्यवसायीहरु उत्साहित तथा आशावादी रहेको बताए । देशको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारेमा चर्चा गर्दै उनले भक्तपुर जिल्लालाई पूर्वाधारसहितको व्यवस्थित बसोबास भएको सहर, आर्थिक सम्भावनाहरुले युक्त सहर, कला संस्कृतिको संरक्षण रहेको सहर, पर्यटनका सम्भावनाहरु पूर्ण उपयोग भएको सहर बनाउनुपर्नेमा जोड दिए । जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिँदै उनले भक्तपुर जिल्ला र मुलुकको समग्र आर्थिक विकासका लागि आवश्यक कानुन निर्माण, नीतिगत सुधार र निजी क्षेत्रको मनोबल वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष गणेशहरि प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरुलाई फूलमाला लगाई बधाई पत्र प्रदान गरिएको थियो भने सोही अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८३ सालको टेबुल क्यालेन्डर विमोचन गरिएको थियो ।

 

           

मञ्जु सुवेदीको संयोजकत्वमा महिला उद्यमी उपसमिति गठन

April 17, 2026

मितिः २०८२ चैत्र १७
भक्तपुर ः
भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत जिल्लाका महिला उद्यमीहरु सम्मिलित महिला उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ ।
संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्जु सुवेदीको संयोजकत्व एवं सरस्वती कार्कीको सहसंयोजकत्वमा २० सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिको सदस्यहरुमा श्रीलक्ष्मी पञ्च, देवका श्रेष्ठ, मुना राउत, तारा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, मन्दिरा बास्कोटा रहेका छन् । यसैगरी, सदस्यहरुमा पुनम श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, कविता श्रेष्ठ, नमिता शर्मा, सीता भण्डारी, संगिता दुलाल रहेका रहेका छन् । उपसमितिमा रहेका अन्य सदस्यहरुमा पिंकी तिमिल्सिना, रस्मिता बखुन्छें, सरु शिल्पकार, सावित्रा खड्का, दयालक्ष्मी किलम्बू र अनिता उप्रेती रहेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले नवगठित महिला उद्यमी उपसमितिबाट महिला उद्यमशीलता विकासका लागि महत्वपूर्ण गतिविधिहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । सफल उद्यमी व्यवसायीहरुको उदाहरण प्रस्तुत गर्दै उनले आफूमा दक्षता, योग्यता र सीपलाई विकास गर्दै दत्तचित्त भएर उद्यम गर्दै गएमा अवश्य पनि सफलता प्राप्त हुने बताए । महिला उद्यमी व्यवसायीहरुको विकासका लागि महिला उद्यमी उपसमितिमार्फत महिला लक्षित विभिन्न कार्यक्रमहरु तालिका बनाएर सञ्चालन गर्न आग्रह गर्दै उनले आवश्यक स्रोत साधनको व्यवस्थापन संघले गर्ने बताए ।
कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जा, कार्यसमिति सदस्य एवं उपसमितिकी संयोजक मञ्जु सुवेदी, कार्यसमिति सदस्य एवं उपसमितिकी सहसंयोजक सरस्वती कार्कीले उपसमितिले महिला उद्यमीहरुको नेतृत्व विकाससँगै महिला उद्यमीहरुको उद्यम व्यवसाय विकास गर्दै उत्पादित सेवा तथा वस्तुहरुको प्रवद्र्धन हुने कार्यक्रमलाई जोड दिने बताए ।

 

युवा उद्यमी उपसमिति गठन

April 17, 2026

 

मितिः २०८२ फागुन २६
भक्तपुर ः
भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गत जिल्लाका युवा उद्यमीहरु सम्मिलित युवा उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ ।
संघका कार्यसमिति सदस्य एवं युवा उद्यमी कृतन अवालको संयोजकत्व एवं शिशिर किसीको सहसंयोजकत्वमा २० सदस्यीय उपसमिति एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
उपसमितिको सदस्यहरुमा बिजोन त्वानाबासू, युगल राजभण्डारी, सलिन अवाल, निरज जंग, शैलेश न्यौपाने, रोमित माकजू, विशालजंग मल्ल, रोहित मानन्धर, सन्नी वैद्य रहेका छन् । यसैगरी सदस्यहरुमा सचिन राजवाहक, आयुष त्वानाबासू, अस्मिता श्रेष्ठ, विशाल प्रजापति, सुशान्त सुवाल, मुस्कान मानन्धर, सुजित दुवाल, निश्कर्ष घिमिरे र शिरिष माकजू श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले नवगठित युवा उद्यमी उपसमिति जिल्लाका नवउद्यमीहरुको लागि प्रेरणाको स्रोत बन्नु पर्नेमा जोड दिए । संघका वैधानिक उद्देश्य तथा लक्ष्यहरु प्राप्तिका लागि उपसमितिमा आबद्ध युवा उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले युवा उद्यमशीलता प्रवद्र्धन तथा विभिन्न व्यवसायिक गतिविधिमा संलग्न युवाहरुबीच सहकार्य गरी अगाडि बढ्ने उपसमितिको मुख्य उद्देश्य हुनुपर्ने बताए ।
नवगठित युवा उद्यमी उपसमितिका संयोजक अवालले युवाहरुको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै देशमै व्यवसाय गरी आर्थिक उत्थान गर्न प्रेरित गर्ने आफूहरुको प्रमुख उद्देश्य रहेको बताए । देशमा विभिन्न व्यवसायको प्रशस्त सम्भावना रहेको भए पनि बजारको यथार्थ अनुसन्धानबिना व्यवसाय गर्नाले कयौं उद्यमी व्यवसायीहरु स्थापित हुन नसकी पलायन हुनुपर्ने अवस्थामा रहेको उनको भनाइ छ । उनले भक्तपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा जिल्लामा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना गरी नवउद्यमीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्ने तथाआवश्यक परामर्श दिने उद्देश्यका साथ उपसमितिमार्फत काम गर्ने आफूहरुको सोच रहेको उनले बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायतले व्यवसाय सञ्चालनको क्रममा विभिन्न समस्या आउने हुँदा हतोत्साही नभई निरन्तर अगाडि बढेमा अवश्यक सफलता प्राप्त हुने बताए । युवा उद्यमीहरुले नयाँ व्यवसायिक योजनाको स्पष्ट खाका तयार गरी ल्याएमा आफूहरुले लगानीको वातावरण तयार गर्ने उनीहरुको भनाइ छ ।

 

करका नियम पालना गरी जरिवानाबाट बच्न आग्रह

February 13, 2026

भक्तपुरः
आन्तरिक राजश्व कार्यालय भक्तपुरकी प्रमुख कर अधिकृत उषा पोखरेलले करका नियम पालना नगर्दा जरिवाना तिर्नुपर्ने भएकाले समयमा कर तिर्न आग्रह गरेकी छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा बिहीबार सञ्चालन भएको करसम्बन्धी समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख कर अधिकृत पोखरेलले करदाताबाट जरिवानासहित बढी राजश्व अशुल्ने कर कार्यालयको कुनै उद्देश्य नरहेको बताइन् । राज्यलाई कर तिर्नु करदाताको अनिवार्य दायित्व भएकोले दण्ड जरिवानाबाट बच्नको लागि उनले उद्योगी व्यवसायीहरुसँग आग्रह गरिन् ।
ऐनले तोकेका परिधि भित्र रहेर करदाताहरुले आफ्नो जिम्मेवारी पूरा गरेमा विभिन्न छुटका सुविधाहरु रहेको भन्दै उनले छुट सुविधाहरु सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । कर कानुनको कार्यान्वयन गराउने निकाय कर कार्यालय भएकोले ऐन नियम पालना नगरेमा नियअनुसार दण्ड जरिवाना लाग्ने उनको भनाइ छ । जिल्लाका उद्योगी व्यवसायीहरुलाई भक्तपुर उद्योग वाणिज्य संघले करका बारेमा सुसूचित गराउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा संघसँग सहकार्य गरी करसँग सम्बन्धित विविध कार्यक्रम गर्ने बताइन् ।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले राज्यलाई कर तिर्नु करदाताको दायित्व रहेको भन्दै कर नतिरे जोकोही पनि कानुनअनुसार भागिदार हुनुपर्ने भएकोले सचेत हुनुपर्ने बताए । उनले राज्यलाई कर तिर्नु नागरिकको दायित्व र जिम्मेवारी भए पनि नागरिकलाई कर तिर्नुपर्छ भन्ने महसुस गराउने दायित्व राज्यको हुने स्पष्ट पारे ।
भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाका करदाताहरुलाई करसँग सम्बन्धित विविध सूचनाहरु दिँदै आएको भन्दै उनले उद्योगी व्यवसायीहरुले कर भुक्तानी गर्ने बेलामा भोगिरहेका समस्यालाई सरल, सहज बनाउन न्यायशील र प्रगतिशील कर प्रणाली लागू हुनुपर्नेमा जोड दिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, कार्यसमिति सदस्य सन्तोषकुमार मिश्रलगायतले कर कार्यालय र करदाताबीच समधुर सम्बन्ध हुनुपर्ने धारणा राख्दै कर प्रशासन मितव्ययी हुनुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले कर सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । संघका सचिव गौतम सुजखूले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरू, जिल्लास्थित विभिन्न वस्तुगत संघका प्रतिनिधिहरु लगायत ९० जना उद्योगी व्यवसायीहरु उपस्थित रहेका थिए ।

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने

February 13, 2026

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपाने चयन भएका छन् ।

संघको गत शुक्रबार र शनिबार भएको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्विरोध चयन भएका हुन् । साधारणसभा तथा अधिवेशनले न्यौपानेसहित २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका छन् । साधारण सदस्यतर्फको उपाध्यक्षमा दिनेश गोसाई, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल र एशोसिएटतर्फको उपाध्यक्ष गणेशहरि प्रजापति निर्वाचित भए । यसैगरी, महासचिवमा रुकेश रंजित, सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रंजित मारिखू निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यहरुमा अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गणेशभक्त गोसाई, नारायणप्रसाद भुसाल, महेशकुमार शर्मा, राजेश त्वानाबासू (राजु), राधाकृष्ण सापकोटा, सन्तोषकुमार मिश्र, सुरेन्द्र प्रजापति र श्यामप्रसाद मानन्धर निर्वाचित भए । महिलातर्फ कार्यसमिति सदस्यमा मञ्जु सुवेदी र सरस्वती कार्की तथा वस्तुगततर्फ कार्यसमिति सदस्यमा कृतन अवाल निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमै एशोसिएटतर्फ बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित भएका छन् ।

महासचिव र एशोसिएटतर्फका कार्यसमिति सदस्यहरु बाहेक अन्य पदाधिकारी एवं कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंकर तिमिलाले जानकारी दिए । संघको नवनिर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई शनिबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरिएको छ । यसैगरी, नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत तिमिलाले सपथ गराए ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफूलाई निर्विरोध निर्वाचित गराएकोमा धन्यवाद दिँदै सबैको सल्लाह, सुझाव लिएर अगाडि बढ्ने बताउँदै सामूहिक कार्य र निर्णयबाट मात्र सफलता प्राप्त हुने भएकाले आफ्नो कार्यकाल सफल बनाउन सबैबाट साथ र सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने पूर्वअध्यक्ष, पदाधिकारी एवं कार्यसमितिका सदस्यहरु लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै नयाँ कार्यसमितिको पूर्ण सफल कार्यकालको लागि शुभकामना दिइन् ।

संघको ३८ औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम गत शुक्रबार भएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको र आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताए ।

महासंघले निजी क्षेत्रको साझा छाता संगठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको उनले जनाए । अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवीदेखि अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दजर्नौं कानुन संशोधनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

 

 

 

निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवा

June 18, 2024

निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवा

भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार निःशुल्क थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ ।
विश्व थाइराइड दिवसको अवसरमा भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरको प्राविधिक सहयोगमा संघको भवनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १८३ जना लाभान्वित भएका छन् । शिविरमा निःशुल्क थाइराइड परीक्षण, सुगर जाँच र रक्तचाप परीक्षण गरिएको छ । शिविरमा सहभागीहरुलाई भक्तपुर हार्ट एन्ड डायबिटिज सेन्टरले विशेषज्ञ चिकित्सकबाट पहिलो पटकको लागि उपचार र परीक्षण निःशुल्क गरिदिने जनाएको छ । 
आयोजक संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत समय समयमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिँदै त्यसकै निरन्तरता स्वरुप निःशुल्क थाइराइड परीक्षण शिविर आयोजना गरेको बताइन् । अस्वस्थकर जीवनशैली एवं तनावका कारण थायराइड हर्मोनका बिरामीको संख्यामा लगातार वृद्धि भइरहेकाले समयमै उपचार गरी रोगबाट बच्न शिविर राखिएको उनको भनाइ छ ।  समयमा उपचार नगरेमा हाइपरथाइराइडिज्मले मुटु र मस्तिष्कमा गम्भीर असर गर्ने हुनाले थाइराइड परीक्षण गरी रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकबाट उपचार गराउन उनले आग्रह गरिन् ।